नेताहरुको रिजीरोटी को लागि मारामार र हानाथाप…..

काठमाडौँ — आगामी निर्वाचनका लागि राजनीतिक दलहरूले उम्मेदवार चयन गर्ने प्रक्रिया थालेका छन् । अहिले प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा जिल्ला कमिटीहरूले आफ्नो क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरिरहेका छन् । आ–आफ्नो विधानबमोजिम दलहरूले क्षेत्र र जिल्लाको सिफारिसमा अब केन्द्रीय कमिटीबाट उम्मेदवारको टुंगो लगाउनेछन् । त्यसो त क्षेत्र र जिल्लाले सिफारिस गर्दैमा उम्मेदवार भइहाल्ने भने होइन, त्यो सिफारिसलाई केन्द्रले उम्मेदवार चयन गर्दा आधार बनाउने मात्रै हो । ठूला दलहरूमध्ये नेकपा एमालेले अधिकांश निर्वाचन क्षेत्रबाट सर्वसम्मत उम्मेदवार चयन गरेको छ भने सबैभन्दा धेरै विवाद नेपाली कांग्रेसमा देखिएको छ । कांग्रेसले थोरै क्षेत्र र जिल्लाबाट मात्रै नेताहरूको नाम सर्वसम्मत सिफारिस गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयले विधानबमोजिम प्रत्यक्षतर्फ बढीमा तीन जनाको सकेसम्म सहमति नभए, बहुमतको प्रक्रियाबाट भए पनि सिफारिस गर्न निर्देशन गरेको थियो । तर, कतिपय जिल्लाले तीन जना सिफारिस गर्नुपर्नेमा दर्जनौंको नाम सिफारिस गरेका छन् । कतिपय जिल्ला र क्षेत्रले गुट, उपगुटको प्रभावमा समेत त्यस्तो सिफारिस गरेका छन् । जिल्ला र क्षेत्रबाट सर्वसम्मत रुपमा एक जनाको मात्रै नाम सिफारिस भएको अवस्थामा भने केन्द्रीय समितिलाई त्यस्ता ठाउँमा उम्मेदवार फेरबदल गर्नसमेत सकस पर्नेछ । कांग्रेसमा सीमित र लोकप्रिय नेताहरूको नाम मात्रै एकल सिफारिस भएको छ । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस भएका छन् । ०४८ सालपछि निरन्तर यहीँबाट चुनाव लड्दै आएका देउवालाई डडेलधुरा कांग्रेसले पुनः प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । उपसभापति पूर्णबहादुर खड्का पनि सुर्खेत–१ बाट सर्वसम्मत सिफारिस भएका छन् । उनी ०४८ सालदेखि नै यही क्षेत्रबाट चुनाव लड्दै आएका छन् । ०६४ मा भने उनी समानुपातिकबाट संविधानसभा सदस्य बनेका थिए । महामन्त्री गगनकुमार थापा काठमाडौं–४ बाट प्रत्यक्षतर्फ उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएका छन् । उनको नाम सर्लाही–४ बाट समेत सर्वसम्मत सिफारिस भएर आएको छ । थापाले भने विगतदेखि चुनाव जित्दै आएको काठमाडौं–४ मै लड्ने बताएका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्मा झापा–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएका छन् । उनी ०७४ मा यही क्षेत्रमा पराजित भएका थिए । सहमहामन्त्री भीष्मराज आङदेम्बे पाँचथरबाट र सहमहामन्त्री महालक्ष्मी उपाध्याय मकवानपुर–२ बाट सर्वसम्मत सिफारिस भएका छन् । सहमहामन्त्री जीवन परियार, बद्री पाण्डे, महेन्द्र यादव र किशोरसिंह राठोर आ–आफ्नो क्षेत्रबाट सिफारिस भएका छन्, तर सर्वसम्मत भने छैनन् । सहमहामन्त्रीद्वय उमाकान्त चौधरी र फरमुल्लाह मन्सुरबीचमा भने बारामा गुटगत रुपमा चर्को विवाद देखिएको छ । दुई पक्षको विवादले उम्मेदवार सिफारिस पनि विवादित बनेको छ । उपसभापति धनराज गुरुङ, नेताहरू शेखर कोइराला, रामचन्द्र पौडेल र गोपालमान श्रेष्ठ आ–आफ्नो क्षेत्रबाट सिफारिस भए पनि सर्वसम्मत भने बन्न सकेनन् । पूर्वउपसभापति विमलेन्द्र निधिले भने धनुषाबाट समानुपातिकतर्फ आफ्नो नाम सिफारिस गराएका छन् । नेताहरू अर्जुननरसिंह केसी र बलबहादुर केसीलाई पनि सम्बन्धित क्षेत्र र जिल्लाले समानुपातिकमा सिफारिस गरेका छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने झापा–३ बाट सर्वसम्मत सिफारिस भए । उनी ०७४ मा पनि सोही क्षेत्रबाट चुनाव लडेका थिए । काठमाडौं–५ बाट प्रवक्ता प्रकाशशरण महत सर्वसम्मत सिफारिस भएका छन् । त्यस्तै, केन्द्रीय सदस्य आरजु राणा कैलाली–५ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएकी छन् । उनी ०७४ मा पनि यही क्षेत्रमा उम्मेदवार थिइन् । उनको नाम डडेलधुराबाट समेत समानुपातिकतर्फ सर्वसम्मत सिफारिस भएको छ । यस्तै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी–४ बाट सर्वसम्मत सिफारिस भएका छन् । त्यस्तै, सुनसरी–३ बाट पूर्वउपसभापति विजयकुमार गच्छदार, मोरङ–३ बाट व्यवसायी सुनिल शर्मा र रौतहट–२ बाट जेलमा रहेका मोहम्मद अफ्ताव आलमको नाम सर्वसम्मत सिफारिस भएको छ । तर, आलम भने प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको व्यवस्था अनुसार उम्मेदवारी मनोनयन गर्न पाउने छैनन् । त्यस्तै, धनकुटाबाट पूर्वसहमहामन्त्री सुनिलबहादुर थापा, सिन्धुपाल्चोक–१ बाट मोहनबहादुर बस्नेत, मुगुबाट जिल्ला सभापति ऐनबहादुर शाही र कञ्चनपुर–१ बाट देवानसिंह विष्ट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।   साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार