११ हजारभन्दा बढीमा संक्रमण, ११ जनाको मृत्यु…..

काठमाडौँ — डेंगु संक्रमण बढी देखिएका स्थानमा लामखुट्टेको फुल र लार्भा नष्ट नगरिए संक्रमण अझ बढ्ने विज्ञहरूले बताएका छन् । अहिलेकै अवस्थामा संक्रमण मत्थर नहुने र आगामी वर्ष अझ व्यापक रूपमा संक्रमण देखिन सक्ने उनीहरुको भनाइ छ । उपत्यकालगायतका ठाउँमा लामखुट्टेको फुल र लार्भा खोज्ने ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान नभएकामा पनि उनीहरुले चिन्ता व्यक्त गरेका छन् । अर्कातिर, डेंगु संक्रमण तीव्र बनेका बेला सिटामोलको अभाव सुरु भएको छ । अहिले राजधानीका अधिकांश फार्मेसीमा नै सिटामोल पाइँदैन । फार्मेसी सञ्चालकहरू एक महिनायता सिटामोल आउन छाडेको बताउँछन् । हालसम्म डेंगुबाट ११ जनाको ज्यान गइसकेको छ भने ११ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार उच्च जोखिममा रहेका १० जिल्लामा मात्र ९ हजार २ सय २६ वटा केस देखिएको छ । उच्च जोखिममा काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रूपन्देही, दाङ, धादिङ, तेह्रथुम, काभ्रेपलाञ्चोक र चितवन रहेका छन् । ती जिल्लामा जनवरीयता ६ महिनासम्म ५१ जनामा डेंगु देखिएको थियो । पछिल्लो अढाई महिनामा भने संक्रमणको केस ह्वात्तै बढेको छ । ‘डेंगु दिनहुँ बढ्दो छ तर मैले आफ्नो क्षेत्र शान्तिनगरमा सर्च एन्ड डिस्ट्रोय अभियान भएको देखकै छैन,’ ईडीसीडीका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले भने । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले डेंगु सार्ने लामखुट्टेको फुल र लार्भा नष्ट गर्ने अभियानबारे धेरै पहिले नै संघीय मन्त्रालयमा परिपत्र गइसकेको बताए । उक्त पत्रमा वडाध्यक्षको संयोजकत्वमा समिति बनाएर वडा स्तरबाट हरेक घरभित्र र बाहिर सर्च एन्ड डिस्ट्रोय अभियान सुरु गर्नेबारे जानकारी गराइएको छ । स्वास्थ्य मन्त्रालयकै एक अधिकारीले उपत्यका र बाहिरका पालिकाले नाम मात्रको अभियान चलाएको बताए । ‘अन्य ठाउँको के कुरा गर्नु, काठमाडौं महानगरले समेत हालसम्म अभियानको रूपमा डेगु संक्रमणको चक्र तोड्ने काम गर्न सकेको छैन,’ उनले भने । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, अनुगमन अनुसन्धान समन्वय शाखा प्रमुख डा. प्रकाश ज्ञवाली फुलबाट प्युपा र यसबाट लामखुट्टे बन्ने चक्र नतोड्दासम्म डेंगु नियन्त्रणमा नआउने बताउँछन् । ‘टोलटोलमा लामखुट्टे सर्च एन्ड डिस्ट्रोय गर्ने वा आवश्यकताअनुसार फगिङ, स्प्रे गर्न छाडेर सरकार विज्ञप्ति निकालेर बसेको छ,’ उनले भने, ‘यसरी डेंगु नियन्त्रण हुँदैन, न त उपचार सुविधा दिएर नै रोकिन्छ ।’ काठमाडौंमा मात्रै २ हजार ५ सयभन्दा केस फेला परिसकेको छ । तर, डेंगु नियन्त्रणमा महानगरपालिका चुकेको डा. ज्ञवालीले आरोप लगाए । ‘यहाँ हरेकजसो घरमा उच्च ज्वरो, दुखाइले थलिएर बसेका छन्,’ उनले भने, ‘डेंगु नियन्त्रण अभियानमा महानगर तीव्र गतिमा लाग्नुपर्ने हो तर त्यो देखिएन ।’ डेंगु नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयभन्दा पालिकाहरु बढी जिम्मेवार रहेको उनको भनाइ छ । महानगरका प्रवक्ता नवीन मानन्धर भने हरेक वडाका घरघर गई डेंगुसम्बन्धि जनचेतना प्रवाहित गरिरहेको बताउँछन् । उनले अभियानसमेत सञ्चालन गरेको दाबी गरे । ईडीसीडीको किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार डेंगु नियन्त्रण गर्ने प्राथमिक हतियार नै सर्च एन्ड डिस्ट्रोय हो । ‘स्थिति विश्लेषण गरेर फगिङलगायतका प्रक्रियामा समेत जान सकिन्छ । धेरै प्रकोपको अवस्थामा इन्डोर फगिङ गर्न सकिन्छ,’ उनले भने । ईडीसीडीले सुरुमै पालिकाका पदाधिकारीलाई डेंगुबारे अभिमुखीकरण दिएको र यसका लागि टोली खटिएको निर्देशक डा. चुमनलाल दासले बताए । ‘हामीले प्राविधिक सल्लाह र सहयोग मात्र दिने हो । यसका लागि बजेटसमेत दिइसकेका छौं,’ उनले भने । उनका अनुसार डेंगु सार्ने लामखुट्टे घरभित्रबाहिर घुमिरहे पनि लार्भा र फुल पानीमा रहन्छ । यस पटक नष्ट हुनबाट जोगिएका फुल पुन: अर्को वर्ष पानीको सम्पर्कमा आउनासाथ लामखुट्टे बन्ने सम्भावना रहन्छ । लामखुट्टेको फुल ८–९ महिनाभन्दा बढी समय बाँच्न सक्छ । सन् २०१९ मा १७ हजार ९ सय ९२ जना संक्रमित भएका थिए भने ६८ जिल्लामा फैलिएको डेंगुबाट ६ जनाको मृत्यु भएको थियो । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार