विक्रम संवत्‌को नववर्ष आज सुरु, देश सही दिशामा हिँडोस्…..

हामी नेपालीले राष्ट्रिय रूपमा प्रयोग गर्दै आएको विक्रम संवत्‌को नववर्ष आज सुरु भएको छ । नयाँ सालले यसै पनि नवीन उमंग ल्याएको हुन्छ, त्यसमाथि सर्वोत्तम ऋतु मानिने वसन्तको बीचमा नयाँ पात्रो पल्टाउनुको आफ्नै अर्थ छ । यति बेला बोटबिरुवाहरूमा नयाँ पालुवा पलाएजस्तै हाम्रो राष्ट्र एवं नागरिकहरूको जीवनमा पनि नयाँ मुना अंकुराउन सक्नुपर्छ । पुराना पातहरू झरेर प्रकृति–वनस्पति फेरिएजस्तै विगतका गल्तीहरू सच्याएर अब हामी पनि नयाँ संकल्पका साथ अघि बढ्न सक्नुपर्छ । खास गरी, सरकार र राजनीतिक नेतृत्वले मुलुकलाई अब सही दिशामा हिँडाउनुपर्छ । आज नयाँ वर्ष मात्र होइन, नयाँ दशक नै सुरु भएको छ । यस अवसरमा बितेको दशकको एकसरो लेखाजोखा गर्नु वाञ्छनीय हुन्छ । ’७० को दशक नेपालको आधुनिक इतिहासमा एउटा विशेष अध्यायका रूपमा रहेको छ । यही दशकको दोस्रो वर्ष नेपालले नयाँ संविधान जारी गर्‍यो, जनताका प्रतिनिधिहरू सम्मिलित संविधानसभानिर्मित उक्त मूल कानुनले राज्यव्यवस्थामै आमूल परिवर्तन ल्यायो । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी राज्यको प्रत्याभूति गरेको संविधानसँगै देश नयाँ राजनीतिक युगमा प्रवेश गर्‍यो । र, उक्त राजनीतिक विकासक्रमले मुलुकमा नयाँ आशाको सञ्चार पनि गरायो । दुःखका साथ भन्नुपर्छ— नवीनतम विश्वासका साथ सुरु भएको उक्त दशकले अपेक्षित दिशा लिनै सकेन । दशकको अन्त्यसम्म आइपुग्दा–नपुग्दै नागरिकहरूमा नैराश्य छाउन थाल्यो । त्यसको कारण अरू केही नभएर उही राजनीति थियो, जसले बदलिएको व्यवस्था अनुरूप आफ्नो चरित्र बदल्नै सकेन । राजनीतिक व्यवस्था आफैंमा साध्य हुन सक्दैन, नागरिक भलाइमा काम गर्ने साधन अर्थात् प्रणाली मात्रै हो । तर, हाम्रो राजनीतिक नेतृत्व जनकल्याणका निम्ति केन्द्रित हुनै सकेन । सबका सब दलहरू सत्तालिप्सामा मात्रै केन्द्रित रहे । भ्रष्टाचार र दण्डहीनताको बाली फस्टाउन दिएर उनीहरूले आफू र आसेपासेहरूको वर्गोत्थान त गरे, तर जनता जहाँको तहीं रहे; आफैंसित तुलना गर्दाको नगण्य प्रगतिबाहेक विश्वसापेक्षतामा नागरिकहरू कतै छुटिरहे । यसबीचमा स्थानीय तहले जसोतसो संघीयताको साख धाने पनि संघ र प्रदेशले निराशाबाहेक केही बाँडेनन् । संघमा त तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोर्‍याएर प्रतिनिधिसभा विघटन गरिदिए । धन्न, दुवै पटक सर्वोच्च अदालतले कार्यकारीको गल्तीलाई सच्याइदिएर संविधानलाई दुर्घटनाबाट जोगायो । र, स्थानीय तह र प्रदेशजस्तै संघीय संसद् पनि पहिलो कार्यकाल पूरा अवधि चल्न पायो । अनि, यथोचित समयमा दोस्रो पटक तीनै तहका आवधिक निर्वाचन सम्पन्न हुन सके । चौतर्फी निराशाकै बीच गत वर्ष भएको आम चुनावमा जनताले राजनीतिक दलहरूलाई आफ्नो सन्देश सुनाए । पुराना दलहरूले मतसंख्या उल्लेख्य गुमाउनु र रातारात नयाँ दलहरू ‘निर्णायक’ हैसियतमा संसद् प्रवेश गर्नुको मुख्य कारण नागरिकले गरेको सुशासनको खोजी नै थियो । परन्तु, जनतालाई सुशासनको सपना बेचेर उदाएका नव दलले पनि पुरानै राजनीतिक शक्तिसरहै सत्तामोह मात्र देखाएनन्, तिनका अनेकन् काण्डहरू पनि सतहमा आए । र, पुराना दलहरूले पनि सुध्रिने छाँट देखाएनन्, अझै देखाएका छैनन् । सरकार बनेको सय दिन बित्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिनसम्म महाभारत भैरहेको छ, यही बीचमा सत्ता गठबन्धनको मुख्य सहयात्री दल नै अदलबदल भएको अर्को तीतो सत्य त छँदै छ । यी सबै घटनाक्रमबाट नागरिक थप निराश छन् । यसरी राजनीति सङ्लिन नसकिरहेका बेला अर्थतन्त्रसहित देशको अरू हाल पनि ठीक छैन । राजस्वले चालु खर्च धान्नै सकस छ; कर्मचारीलाई तलब खुवाउन ऋण लिनुपर्ने अवस्था छ । तर विभिन्न अध्ययन प्रतिवेदनले सुझाएकै सार्वजनिक खर्च कटौती गर्न पनि सरकार तत्पर देखिन्न । देशभित्र गरिखाने वातावरण नदेखेपछि विद्यालय तहको अध्ययनपछि नै थप पढ्न वा रोजगारीका लागि बिदेसिने युवाको अभूतपूर्व ताँती छ । उच्च शिक्षालयहरूमा कोटा अनुरूप विद्यार्थी छैनन् । विद्यालय शिक्षाको सिकाइ–गुणस्तरमै समस्या छ । स्वास्थ्य सेवा आफैं बिरामी छ । कृषिप्रधान देशमा साढे ३ खर्ब रुपैयाँको कृषिउपज नै आयात गर्नुपर्ने विवशता छ । र, यही बेला जलवायु परिवर्तनको मार देखिने गरी पर्न थालिसकेको छ । निश्चय पनि यी सबै समस्याको द्रुत समाधान सहज छैन, परन्तु सार्थक पाइला चालेमा क्रमशः सुधार असम्भव छैन । त्यसैले आजका अवसरमा सरकारले यथोचित संकल्प गरोस् । अर्थतन्त्रदेखि सुशासनसम्ममा देखिएका भ्वाङहरू टालिऊन् । खास गरी अर्थतन्त्रमा तत्कालीन समस्याहरू समाधानका अतिरिक्त दीर्घकालीन संरचनात्मक सुधार गर्नुपर्ने खाँचो छ, जसको थालनी यही वर्ष हुन सकोस् । सरकार खोक्रो प्रचारमुखी काममा भन्दा पनि वास्तविक सुधारमा केन्द्रित होस्; कर्मचारीलाई फगत निर्देशन दिने शैलीबाट माथि उठोस् । सुशासन एवं सार्वजनिक सेवा वितरणमा उल्लेख्य सुधार आओस्; गणतान्त्रिक नागरिकले पनि सरकारी कार्यलयहरूमा पुग्दा रैतीजस्तै महसुस गर्नुपर्ने विडम्बनाको अन्त्य होस् । समग्रमा, देशका सबै अंगको स्वास्थ्यमा सुधार आओस् । यसका निम्ति राज्यसञ्चालकहरू हिजोका गल्तीबाट पाठ सिकेर देश र नागरिकलाई प्रगतिपथमा लम्काउन दत्तचित्त रहून् । यिनै दायित्वबोधका लागि हाम्रोतर्फबाट सबैलाई नयाँ वर्ष २०८० को शुभकामना ! साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार