काठमाडौंमा सधैं प्रदूषणको पिरलो…..

काठमाडौँ — गत वर्षहरूको यही अवधिमा जस्तै देशका प्रमुख सहरहरूमा प्रदूषण उच्च भएको छ । प्रदूषण बढेसँगै केही दिनयता काठमाडौंको आकाश धुम्मिएको छ भने अस्पतालहरूमा दम र निमोनियाका बिरामीको संख्या बढ्न थालेको छ । आकाश तुवाँलोले ढाकिँदा चार दिनयता आन्तरिक उडान प्रभावित भएको छ । एक्यू एयरका अनुसार आइतबार दिउँसो काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १६९ छ । काठमाडौं शंखपार्कमा एक्यूआई १८७ थियो भने खुमलटारमा १८६, भैंसीपाटीमा १८४, रत्नपार्कमा १७९ र कीर्तिपुरमा १७६ थियो । वातावरण विभागका निरीक्षक गोविन्द लामिछानेका अनुसार ५० सम्मको एक्यूआईलाई सन्तोषजनक र १५० देखि २ सयसम्मलाई अस्वस्थ मानिन्छ । ‘यो अवस्था संवेदनशील स्वास्थ्य भएकालाई जोखिमपूर्ण हुन्छ । अझ, २०१ देखि ३ सय एक्यूआईले सबै उमेर समूहका मानिसको स्वास्थ्यमा जोखिम बढाउँछ भने ३०१ देखि ५ सयसम्मले आपत्कालीन अवस्था जनाउँछ,’ उनको भनाइ छ । स्वस्थ वातावरणका लागि हावामा २.५ माइक्रोनभन्दा सानो व्यास भएका कण (पीएम २.५) को मात्रा प्रतिघनमिटरमा ५ माइक्रोग्राम वा त्यसभन्दा कम हुनुपर्छ । तर, काठमाडौंमा यसको मात्रा ७५.३९ देखि अधिकतम १२०.५७ रहेको पाइएको छ । यस्ता कणमा नाइट्रेट्स, सल्फेट, ब्ल्याक कार्बन, एमोनियम र धूलोका कण हुन्छन् । यस्ता कण फोक्सोमा सजिलै पुग्ने भएकाले स्वास्थ्यका लागि खतरनाक मानिन्छन् । उद्योग, सवारीसाधन, निर्माण, घाँसदाउरा बाल्दा र कृषि क्षेत्रबाट पीएम २.५ पार्टिकल्स निस्कन्छन् । देशभर डढेलो बढेकाले उपत्यकामा प्रदूषण बढी देखिएको वन विभागका निरीक्षक लामिछानेको भनाइ छ । स्याटेलाइटबाट प्राप्त तथ्यांक हेर्दा शनिबार र आइतबार देशभर १८ ठाउँ डढेलो लागेको थियो । पछिल्लो एक सातामा २९० ठाउँमा डढेलो देखिएको उनको भनाइ छ । ‘सबैभन्दा बढी डढेलो चितवन राष्ट्रिय निकुञ्ज र पर्सा निकुञ्ज क्षेत्रमा लागेको छ,’ लामिछानेले भने । विभागले हालै निकालेको प्रतिवेदनअनुसार हरेक वर्षको हिउँद र प्रि–मनसुनमा काठमाडौं र तराईमा वायु प्रदूषण बढ्ने गरेको छ । फागुनदेखि वैशाखसम्म हुने धेरै डढेलोले प्रदूषणको मात्रा बढ्छ । वायु प्रदूषणको वर्तमान अवस्था जोखिमयुक्त रहेको विभागका प्रवक्ता शंकरप्रसाद पौडेल बताउँछन् । ‘बढ्दो प्रदूषणले खासगरी बालबालिका र वृद्धमा बढी असर गर्छ, त्यस्तै प्रदूषणमा वयस्कहरू पनि घरबाहिर जाँदा मास्क लगाउनु अत्यावश्यक छ । रत्नपार्कको वायुको गुणस्तर मापन ३०९ दिन भएकामा १५३ दिन प्रदूषणको मात्रा औसत मापदण्डभन्दा बढी रहेको विभागको प्रतिवेदन छ । कीर्तिपुरमा ३१० दिन मापन हुँदा १२४ दिन औसत मापदण्डभन्दा बढी प्रदूषण थियो । भक्तपुरमा २३९ दिनसम्म मापन हुँदा १२१ दिन बढी प्रदूषण थियो ।   साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार