पूर्वउपराष्ट्रपति पुनको सचिवालय नै सुन तस्करीमा…..

काठमाडौँ — छोराहरू मात्र होइन, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय नै सुन तस्करीमा परिचालन भएको पुष्टि भएको छ । चीन र दुबईलगायत देशबाट भरियाले ल्याएको सुन तत्कालीन उपराष्ट्रपतिका परराष्ट्रविज्ञ जीवनकुमार गुरुङलाई बुझाउने गरेको प्रहरी अनुसन्धानबाटै खुलेको छ । अहिले भन्सारको थुनामा रहेका गुरुङविरुद्ध मुद्दा दायर गर्ने तयारी भएको छ भने पुनका पुत्रद्वय भने अहिले पनि कानुनको पहुँचबाहिरै छन् । गत मंसिर २१ मा तस्करी गरेर ल्याएको १४ किलो सुनसहित गोरखाका चन्द्र घले विमानस्थलबाट पक्राउ परेका थिए । तस्करीको जालो खोज्दै जाँदा अनुसन्धानकर्मीहरू गोरखाकै मीन घले हुँदै गुरुङसम्म पुगेका हुन् । सुन तस्करी प्रकरणमा संलग्नता भेटेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फागुन १४ मा उनलाई पक्राउ गरी छानबिन तथा अनुसन्धान गरिरहेको छ । उनी डिल्लीबजारस्थित प्लाटिनम कलेजका कार्यकारी प्रमुखसमेत हुन् ।

ताक्लाकोटमा तमसुक, हिल्सा हुँदै तस्करी:

गुरुङ पक्राउ परेपछि तस्करीमा संलग्न माथिल्लो तहसम्मको खोजी गर्न अनुसन्धान अधिकृतलाई निर्देशन दिइएको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले गरेको छानबिन तथा अनुसन्धानअनुसार भरियाले ल्याएको सुन गुरुङले जिम्मा लिएर व्यवस्थापन गर्ने गरेको भेटिएको हो । ‘भरियाहरूले ल्याएको सुन गोरखाका मीन घले हुँदै गुरुङसम्म पुग्ने गरेको पुष्टि भएको छ, त्यसैले उपराष्ट्रपतिको सचिवालयबाटै गिरोह परिचालन हुने गरेको देखिएको छ, अहिले गुरुङविरुद्ध मुद्दाको तयारी छ,’ अनुसन्धानमा सहभागी भन्सारका एक अधिकारीले भने । घले समूहले सन् २०१४ देखि नै सुन तस्करी गर्ने गरेको र पछिल्लो एक वर्षमा करिब १ सय ३८ किलो सुन तस्करी गरेर नेपाल भित्र्याएको छानबिनका क्रममा खुलेको थियो । ‘भरियाले तस्करी गरी ल्याएको सुन विमानस्थलबाट बाहिर निकालेपछि सुरुमा मीनले बुझ्थे । त्यसपछि गुरुङको जिम्मा लगाउने गरेको प्रमाण भेटिएको छ,’ अधिकारीले भने, ‘सरकारी वकिलको कार्यालयबाट राय लिएर गुरुङविरुद्ध मुद्दा दायर गर्ने तयारीमा छौं ।’ २०७२ कात्तिकदेखि २०७९ चैत ६ सम्म दुई कार्यकाल गरी करिब ७ वर्ष पुन उपराष्ट्रपति हुँदा गुरुङ परराष्ट्र विज्ञका रूपमा ‘कोर टिम’ मा थिए । त्यसैबेलादेखि नै उनले तस्करीको सुन बुझिलिने गरेको भन्सारका अनुसन्धान अधिकृतहरूको भनाइ छ । तस्करीको सुन गुरुङको समूहले भारतीय बजारसम्म पुर्‍याउने गरेको आरोपमा भन्सारले उनीविरुद्ध मुद्दा दर्ताको तयारी गरेको छ । गुरुङले तस्करी धन्दा चलाउन विभिन्न व्यक्तिका नाममा सिम निकालेर प्रयोग गर्ने गरेको पनि भेटिएको छ । ‘करिब ३ महिनासम्म गुरुङ फरार रहेकाले अनुसन्धानको गहिराइमा पुग्न ढिलाइ भइरहेको थियो,’ भन्सारका अधिकारीले भने, ‘मंसिरमा घलेलगायतका भरियाहरू पक्राउ परेपछि गुरुङले मोबाइल सेटसमेत परिवर्तन गरिसकेछन्, अनुसन्धानबाट प्रमाणहरू जुटेका छन्, थप प्रमाण जुटाउने क्रम जारी छ । साभार : इका

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार