साहित्य श्रृंखलाको ‘साहित्यिक पदयात्रा–३’ ग्रास आइल्याडमा

  टोपबहादुर याक्खा

३१ मार्च, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाद्धारा १३० औं श्रृंखला विशेष ‘साहित्यिक पदयात्रा ३–२०२४’ हङकङकै एकदमै सुन्दर टापु ‘ग्रास आइल्याण्ड’ (ताप मुन) भ्रमण संगै साहित्यिक एवं सांगितक कार्यक्रमको साथमा सम्पन्न गर्यो ।
डाइमण्ड हिलबाट ९६ आर बस चढेर करिब १ घण्टाको यात्रा पश्चात ओङ सेक पियर फेरी र त्यहाँबाट बोट पक्डिएर करिब आधा घण्टाको यात्रा पश्चात ग्रास आइल्याण्ड पुगेका थियौं । त्यहाँबाट करिब १५ मिनटको पैदल यात्रा पश्चात गन्तव्य स्थल पुगेर श्रृंखला परिवार साहित्यिक तथा सांगितिक कार्यक्रममा रमेका थिए ।
श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न साहित्यिक कार्यक्रममा आफ्नो सृजना वाचनसंगै कवि तथा साहित्यिकार कमल पौड्यालले श्वागत मन्तव्य राखेका थिए भने नेपालबाट कोशेली स्वरुप प्राप्त कवि तथा गीतकार अगम विकरालको गीति संग्रह ‘यादको मूच्र्छना’ र अर्का कवि तथा गीतकार भावेश भुमरीको प्रेमपत्र संग्रह ‘भावलिपि’ सार्वजनिक समेत गरिएको थियो ।
अगम विकरालको ‘यादको मूच्र्छना’ माथि कवि तथा साहित्यका देवेन्द्र खेरेस र कार्यक्रम संचालक समेत रहेका टी.बी. याक्खाले टिप्पणी रोखेका थिए भने भावेश भुमरीको ‘भावलिपि’ माथि बिशु समले बोलेका थिए ।

कार्यक्रममा नेपालबाट अघिल्लो दिन मात्रै हङकङ आइपुगेकी साहित्य श्रृंखलाकी सदस्य कल्पना काफ्लेका साथै सुनिता गिरी, पूर्णिमा शाह, जानु काम्बाङ लिम्बु, टी.बी. याक्खा, नरजित राई, इन्द्र राना, नारायण भण्डारी, डोम राना, बिशु सम लगायतले नयाँ तथा पुराना सृजनाहरु वाचन गरेका थिए भने पुर्व घोषित यात्रा अवधीमा रचिएका सृजनाहरु मध्ये जानु काम्बाङ लिम्बु र इन्द्रा रानाका २ उत्कृष्ठ सृजनाहरुका सृष्टाहरुलाई भने खदा लगाएर सम्मान गर्दै नगद पुरस्कार तथा दाजु गुरुङको पछिल्लो कृति ‘निरजोया’ (विमोचन हुन बाँकी) प्रदान गरिएको थियो ।
सृजना वाचन संगै श्रृंखलाका संरक्षक दाजु गुरुङले समग्र कार्यक्रमबारे आफ्नो भनाईहरु राखेका थिए भने संयोजक रमण गुरुङले समेत आफ्नो सृजना वाचन संगै धन्यवाद मन्तव्य राखेका थिए । साहित्यिक कार्यक्रमको समापनसंगै चर्चित लोक गायिका तथा मोडल मञ्जु थापाले गीत गाएर सबैलाई नचाएकी थिइन ।
नाँचगान संगै साहित्य श्रृंखलाको टिसर्टमा उपस्थित सबैले ब्यालेन्स रक लगायत त्यहाँका राम्रा–राम्रा ठाउँहरुमा एकल तथा सामूहिक फोटो सेसन समेत गरेका थिए भने सबैले घरमै तयार गरेर लगेको चाम्रे भात, गुन्द्रकको अचार, आलुदम, सेल रोटी, चटपटे लगायतका परिकारहरुको श्वाद शब्दमा वर्णन गर्न नसकिने किसिमको रहेको थियो ।

नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत १२ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत समेत गर्दै आइरहेको साहित्य श्रृंखलाले साहित्यिक वनभोज तथा साहित्यिक पदयात्रालाई समेत निरन्तरता दिदै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार