बैशाखदेखि शिक्षण अस्पतालमै कलेजो प्रत्यारोपण………….

९ फागुन, काठमाडौं ।  जतिबेला डा. रमेशसिंह भण्डारी त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणको योजना बुनिरहेका थिए, धेरैले नाक खुम्च्याउँदै शंसय व्यक्त गर्थे- नेपालमै ? त्यो पनि सरकारी अस्पतालमा ? नेपालका सरकारी अस्पताल र त्यहाँ पाइने सेवा सुविधाबारे आम मानिसहरुले प्रश्न उठाइरहेका बेला त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण गर्ने योजना पत्यार नलाग्नु स्वभाविकै थियो । तर, करिव ३ वर्षको प्रयासपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल कलेजो प्रत्यारोपणको अन्तिम तयारीमा जुटेको छ । कुनै अवरोध भएन भने आउँदो बैशाखबाट शिक्षण अस्पतालमै कलेजो प्रत्यारोपण सुरु हुनेछ । डा. भण्डारी आफैं नेपालमा सबैभन्दा धेरै लिभर सर्जरी गर्ने डाक्टरमध्ये एक हुन् । उनकै अगुवाईमा कलेजो प्रत्यारोपण सुरु गर्न शिक्षण अस्पतालमा डाक्टरहरुको टिम नै तयार भएको छ । एनेस्थेसियामा डा. अमित शर्मा भट्टराई र हिपाटोलोजीमा डा. राहुल पाठक छन् । डा. पाठकले हालै मात्र एक महिना अमेरिकामा प्रत्यारोपणबारे अध्ययन गरेर आएका हुन् । क्रिटिकल केयरमा डा. सुवास आचार्य र डा. प्रमेशसुन्दर श्रेष्ठ छन् । प्रत्यारोपण सुरु गर्न आचार्यले क्यानडा र श्रेष्ठले अमेरिका पुगेर अध्ययन गरेका थिए । इन्टरभेन्सनल रेडियोलोजीमा दिनेश चटौत र अजित थापा छन् । पिडियाट्रिक ट्रान्सप्लान्टमा डा. सूर्यबहादुर थापा छन् । पिडियाट्रिक ट्रान्सप्लान्टमा अध्ययन गर्न भारत पुगेका उनी केही समयमै नेपाल आइपुग्नेछन् । दक्षिण एशियामै नाम चलेको शिक्षण अस्पतालको स्टार्डम अबको ५/६ वर्षमा फर्काउनुपर्छ । त्यो फर्काउने एउटै माध्यम प्रत्यारोपण हो- भण्डारी प्याथोलोजीमा अनिलदेव पन्त छन् । डा. भण्डारीले भने, ‘लगभग टिम तयार भएको छ ।’ भण्डारीले सन् २००९ मा छात्रवृत्ति पाएर अष्ट्रेलिया लिभर सर्जरीको अध्ययन गर्ने मौका पाएका थिए, त्यही बेला उनलाई लाग्यो कि नेपालमा पनि सम्भव छ । तर, उनी एक्लैलाई लागेर केही हुनेवाला थिएन । न उनी आफैंसँग पर्याप्त अनुभव थियो न टिम । तर, उनले हार मानेनन्, बरु आफूले अध्ययन गरेको कलेजसँग कुराकानी मिलाए र प्रत्यारोपणबारे अध्ययन गर्न २०१४ मा फेरि अष्ट्रेलिया पुगे । एक वर्ष अध्ययन गरेर फर्किएपछि ‘म एक्लैले हुँदैन, बलियो टिम चाहिन्छ’ भन्ने लाग्यो । शिक्षण अस्पतालमा डाक्टरहरु त एकसेएक थिए तर, प्रत्यारोपणको अध्ययन पनि चाहियो । त्यसैले उनले त्यहीँ कार्यरत चिकित्सकहरुलाई कन्भिस गरे, कतिलाई त अनुनयविनय नै गरे । उनीहरुले विभिन्न देश पुगेर प्रत्यारोपणबारे अध्ययन गरेका छन् । डा. भण्डारी भन्छन्, ‘म एकदमै खुसी छु, टिम तयार भएको छ ।’ टिम त तयार भयो । तर, उनलाई अर्को प्रश्न आउन थालेको छ, कति टिकाइराख्न सक्छौं ? उनी आफैं पनि यो ठूलो चुनौती भएको मान्छन् । मान्छेको मन कहिले परिर्वतन हुन्छ भन्न सकिन्न । तर, आफ्नो टिममा भएका सबैमाथि विश्वास छ । साथै निजी अस्पतालहरुले अहिले नै कलेजो प्रत्यारोपणमा हात हाल्ने सम्भावना पनि उनले देखेका छैनन् । किनकी यसमा ठूलो खर्च हुन्छ, जुन बिरामीबाट लिएर मात्र सम्भव छैन । अरु उपचारमा भएको नाफा यसमा खर्च गर्नुपर्छ । डा. भण्डारी भन्छन्, ‘अपरेशन गरे मात्र सकिँदैन, त्यसपछि थुप्रै प्रक्रिया हुन्छ । विरामीहरुको त्यो भिड म्याजेन गर्न यस्तै डेडिकेटेड अस्पतालले मात्र सक्छ ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार