कांग्रेसमा को बन्ला देउवाको उत्तराधिकारी ?…..

काठमाडौँ — ८० वर्षीय शेरबहादुर देउवाको नेतृत्व असान्दर्भिक भएको भन्दै महामन्त्री गगन थापाले विकल्प खोजेसँगै संसद्को ठूलो दल कांग्रेसमा उत्तराधिकारीको बहस सुरु भएको छ । २० महिनाअघि सम्पन्न १४ औं महाधिवेशनमा देउवासँगै प्रतिस्पर्धा गरेका नेता शेखर कोइरालाले नेतृत्व परिवर्तनको विषयमा मौनता साधिरहेका बेला महामन्त्री थापाले एक कदम अघि बढेर ‘एक्ला चलो रे’ भावमा संसदीय दलको नेता परिवर्तनलाई ‘मिसन’ बनाएका छन् । थापालाई कोइरालाले कति साथ दिन्छन् वा दिँदैनन् प्रस्ट छैन तर ०४८ सालमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको ‘क्याबिनेट’ मा गृहमन्त्री भएदेखि कुनै न कुनै भूमिकामा नेपाली राजनीतिको केन्द्रमा रहेका देउवाको विकल्प खोज्न पार्टीका बहुसंख्यक नेता–कार्यकर्ता तयार छैनन् । उनीहरूले देउवाको विकल्प खोज्नेभन्दा उत्तराधिकारी खोज्ने बहसतिर पार्टीको आन्तरिक शक्ति संघर्षलाई मोड्न चाहेका छन् र त्यसको केन्द्रमा छन्– शेखर कोइराला । ०७९ पुस ६ को संसदीय दलको चुनावपछि शेखर कोइराला र गगन थापा एक/अर्काप्रति सशंकित छन् । संसदीय दलको नेतामा शेखर आफैं चुनाव लड्न चाहेका थिए तर अन्तिम घडीमा गगनलाई साथ दिए । ‘त्यस घटनाबाट शेखर गगनप्रति पूर्ण विश्वस्त छैनन्, शेखर दाइको चाहना एक पटक पार्टी सभापति बन्नेछ, केही दिनअघि १५ औं महाधिवेशनमा अरू के गर्छन् थाहा छैन तर म पार्टीको सभापति हुँ भनेर कान्तिपुर टीभीसँगको अन्तर्वार्तामै घोषणा गर्नुभयो, अहिल्यै उम्मेदवारी घोषणा गर्नुपछिको कारण पनि गगनप्रतिको अविश्वास हो,’ शेखरनिकट एक केन्द्रीय सदस्यले भने, ‘सभापतिजीलाई पनि शेखर र गगन एकै ठाउँमा संगठित हुँदा कुनै पनि बेला दलको नेतामा असुरक्षा बढ्न सक्छ भन्ने थियो । दलको निर्वाचनले नै सभापति र शेखर दाइबीच हार्दिकता बढाएको देखिन्छ । सभापतिलाई असहयोग गरेर अप्ठ्यारो पार्ने नीति शेखर दाइले छाड्नुभएको छ । देउवाले उत्तराधिकारीमा कोइरालालाई अघि सार्न सक्ने संकेतको बुझाइ अहिले कांग्रेसका दुवै खेमामा छ । स्वयं कोइरालाले भने यसको खण्डन गरिरहेका छन् । ‘तपाईंहरू शेरबहादुर देउवासँग मिल्यो भनेर लेखिरहनुभएको छ, केमा मिल्यो ? किन मिल्यो ? यसको कारण मैले बुझेको छैन,’ बिहीबार कांग्रेसनिकट प्रेस युनियनको कार्यक्रममा कोइरालाले भनेका थिए, ‘पहिले शेखर सभापति देउवालाई भेट्न जाँदैनथ्यो पनि लेख्नुभएको छ । पहिला शेरबहादुरजीले बोलाउनु हुँदैनथ्यो, म जाँदिन थिएँ । अहिले बोलाएपछि गएको हुँ । नबोलाएको ठाउँमा जाने मेरो बानी छैन । उत्तराधिकारीको बहस सुरु भए पनि देउवा अघिल्लो पुस्ताका नेताहरूले जस्तो आफू कार्यकारी छँदै उत्तराधिकारी तयार गर्ने पक्षमा देखिँदैनन् । बीपी कोइरालाले आफू कार्यकारी पदमा छँदै कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति दिएका थिए । आफूपछि पार्टीको जिम्मा उनले नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालाई सुम्पेका थिए । त्यसैगरी गिरिजाप्रसाद कोइरालाले आफू कार्यकारीमा छँदै उत्तराधिकारी तयार पार्न सुशील कोइरालालाई कार्यवाहक सभापति बनाएका थिए । २०५९ सालमा देउवाले पार्टी विभाजन गरे । त्यसपछि भएको एघारौं महाधिवेशनबाट उपसभापति बनेका सुशीललाई पार्टी एकीकरणसँगै कोइरालाले कार्यवाहक सुम्पेका थिए । करिब सात वर्ष सुशीलले कार्यकारी अधिकारसहित कार्यवाहक चलाए । सुशीलपछि पार्टी नेतृत्व सम्हालेका देउवाले पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकालको पनि दुई वर्ष बित्न लाग्दा आफ्नो उत्तराधिकारी को हो भन्ने भेउसम्म दिएका छैनन् । संस्थापनपक्षीय एक नेताका अनुसार देउवा पार्टीको सभापतिबाट अलग भए पनि शक्तिको केन्द्रबाट भने अलग हुन चाहेका छैनन् । आफूमा शक्ति केन्द्रित गर्ने र पत्नी आरजु देउवा राणालाई स्थापित गर्ने रणनीतिका साथ उनी अघि बढिरहेको देखिन्छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार