काठमाडौं महानगरपालिका मेयर शाहको पूर्वाधार एम्बुलेन्स…..

काठमाडौँ — ‘एम्बुलेन्स’ भन्नेबित्तिकै आपत्कालीन् अवस्थामा बिरामीलाई अस्पताल पुर्‍याउने सवारी साधनको रुपमा लिइन्छ । मानिस बोक्ने साधारण एम्बुलेन्स र वन्यजन्तु बोक्ने वन्यजन्तु एम्बुलेन्स धेरैले देखेका छन् । सडकका खाल्डाखुल्डी पुर्न, मर्मतसम्भार गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले एम्बुलेन्स ल्याउँदै छ । सडकमा खाल्डाखुल्डी हुँदा होस् या पानीको पाइप फुट्दा, बटुवालाई हिँडडुल गर्न असहज मात्रै होइन, दुर्घटना र ज्यान जाने जोखिम धेरै हुन्छ । यी समस्यालाई सम्बोधन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले पहिलो पटक ‘इन्फ्रास्ट्रक्चर एम्बुलेन्स’ सञ्चालन गर्न लागेको हो । सम्भवत: अबको १५ दिनभित्रमा काठमाडौंमा महानगरमा यो एम्बुलेन्स देख्न सकिने छ । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि नगर प्रमुख बालेन्द्र शाहले पहिलो कार्यपालिका बैठकमा यो एम्बुलेन्स सञ्चालनमा ल्याउने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित भएपछि उनको यो योजनाले सार्थकता पाउन लागेको हो । ठूला ठूला भौतिक संरचना निर्माण गर्दा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गरेर एउटा एम्बुलेन्स ‘स्ट्यान्ड बाई’ राखिएको हुन्छ । उक्त एम्बुलेन्सलाई इन्फ्रास्ट्रक्चर एम्बुलेन्स भनिए पनि यसको कुनै निश्चित ‘टर्मिनोलोजी’ नभएको बताउँछन् नेपाल इन्जिनियर्स एसोसिएसनका पूर्वमहासचिव एवं लुम्बिनी प्रदेशको पूर्वाधार विकास प्राधिकरणका सीईओ छवीराज पोखरेल । ‘ ठूला संरचनाहरू निर्माण गर्दा त्यहाँ आपत्कालीन अवस्थामा निर्माण सामग्रीहरु चाहिने हुन्छ । त्यसका लागि निर्माण सामग्रीसहितको एउटा तयारी टिम हुन्छ,’ इन्जिनियर पोखरेलले भने,‘त्यही टिमलाई उहाँ(मेयर शाह)ले नाम दिएको हुन सक्छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसको सिभिल इन्जिनियरिङ विभागका उपप्रमुख एवं सह–प्राध्यापक क्षितिजचन्द्र श्रेष्ठ सडक तथा पूर्वाधारको मर्मतसम्भारका लागि राखिएको सुविधासम्पन्न टिमलाई पूर्वाधार एम्बुलेन्स नाम दिएको बताउँछन् । उनले भने, ‘मेरो विचारमा इन्फ्रास्ट्रक्चर एम्बुलेन्स भनेको र्‍यापिड रेस्पोन्सका लागि राखिएको दक्ष मानिसहरू भएको टिम हो । आपत्कालीन अवस्थामा एम्बुलेन्स प्रयोग गरिने भएकाले नाम एम्बुलेन्स दिइएको हुनसक्छ । ’ सह-प्राध्यापक श्रेष्ठका अनुसार मर्मतसम्भारकै लागि भनेर राखिने उक्त टिमलाई ‘र्‍यापिड रेस्पोन्स टिम’ पनि भनिन्छ ।

निर्माण कार्य धमाधम:

जेठभित्रै सञ्चालन गर्ने तयारी रहेको पूर्वाधार एम्बुलेन्स सामान्य गाडी भएको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरका सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाका अनुसार तत्कालका लागि दुईवटा पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने तयारी छ । महानगरका वातावरण विभागका दुईवटा गाडी (सम्भवत: टिपर)लाई एम्बुलेन्सको रुपमा प्रयोग गरिनेछ । एउटा गाडीमा प्राविधिक इन्जिनियर,मिस्त्री र अन्य दुई जना कामदार रहनेछन् । प्राविधिक महानगरकै कर्मचारी भए पनि मिस्त्री र कामदारहरुलाई दैनिक ज्यालादारीमा राखिने उनले बताए । पूर्वाधार एम्बुलेन्सले मर्मत सम्भार गर्ने, खाल्डाखुल्डी पुर्न, म्यानुअल कभर नभएको ठाउँमा कभर राख्ने, फुटपाथ टुटफुट हुँदा त्यसलाई टाल्ने काम तत्कालै हुनेछ । हाल महानगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेर पूर्वाधार एम्बुलेन्सलाई आवश्यक पर्ने सामग्री खरिद गरिरहेको छ । खाल्डो पुर्नका लागि चाहिने सामग्री, खाल्डो छोप्ने कभर, ढुंगा, गिटी, बालुवा, इँटा, रड, प्लग, ग्राभेल बेस खरिद गरिएको उनले बताए । महानगरले बढी प्रयोग हुने सामानहरू बढी खरिद गरेको छ । एम्बुलेन्सले अलकत्रा (बिटुमिन) भने बोक्ने छैन । यसका लागि खाल्डोमा सब बेस र लेभल गरेपछि पछि कालोपत्रे गर्ने बेलामा अलकत्रा प्रयोग गरिने थापाले बताए । उनले भने, ‘यो अस्थायी रुपका लागि मात्रै हो । मानवीय र अन्य प्रकारका क्षति नहोस् भनेर हामीले सञ्चालन गर्ने तयारी गरेका हौं । बिटुमिन सम्भव हुँदैन अहिले । ड्रमका ड्रम हुने भएकाले सम्भव पनि देखिँदैन । कठमाडौं महानगरपालिकाले यसअघि पनि खाल्डाखुल्डी पुर्न र मर्मतसम्भार निजी कम्पनीलाई जिम्मा दिएर ठेक्कामार्फत गर्दै आएको थियो । तर ठेकेदार कम्पनीले मर्मतसम्भार गर्न ढिलो जाने भएकाले प्रभावकारी भएको थिएन । यो वर्ष पनि महानगरले टेन्डर आह्वान गरे पनि कुनै पनि कम्पनी योग्य नभएपछि ठेक्का रद्द भएको थियो । महानगरले आफैं यो काम गर्दा खर्च कम हुने र प्रभावकारी पनि हुने थापाले बताए । पूर्वाधार एम्बुलेन्सले गर्ने काम र भएको खर्चको अनुगमन महानगरका प्राविधिकले हेर्नेछन् । उनले दैनिक विविरण राखेर विभागलाई पठाउनेछन् । पूर्वाधार एम्बुलेन्सका लागि कल सेन्टर सञ्चालन हुनेछ । कल सेन्टरमा आएको फोनको आधारमा सेवा प्रवाह गर्ने महानगरको तयारी छ । आफ्नै कल सेन्टर र आफैं रेस्पोन्स गर्ने टिम हुँदा यो काम प्रभावकारी हुने बताइएको छ । पूर्वाधार एम्बुलेन्सले रातिको सेवा नदिए पनि बिहान ६ बजेदेखि बेलुका ५/६ बजेतिर दिने तयारी छ । पूर्वाधारविज्ञ सूर्यराज आचार्य सडकका खाल्डाखुल्डी पुर्नका लागि बनाइएको आपत्कालीन टिम राम्रो भएको बताए । उनले सडकका खाल्डो बेलैमा पुर्दा ठूला दुर्घटनाको जोखिम कम हुन बताए ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार