सरकारी उपकरण बिगार्दै थन्काउँदै, बिरामी निजीमा जान बाध्य…..

काठमाडौँ — कान्ति बाल अस्पतालमा आन्द्रासम्बन्धी रोग पत्ता लगाउन प्रयोग गरिने फ्लोरोस्कोपी मेसिन बिग्रिएको १५ वर्ष बितिसक्यो । मुटुको परीक्षण गर्ने कोरियोग्राफी मेसिन थन्किएको दुई वर्ष पुग्यो । अस्पतालमा एमआरआई मेसिन छैन । भएको एउटा सिटी स्क्यान पनि बिहीबारदेखि थन्किएको छ । अस्पतालका अपरेसन थिएटर २७ वर्ष र ल्याबका सामान १० वर्ष पुराना छन् । ५२ शय्याको आईसीयू सञ्चालन गर्ने क्षमता रहे पनि ३४ शय्या मात्र सञ्चालनमा छ । बोलीको उपचार विधि ‘स्पीच’ थेरापी छैन । मिर्गौला बिग्रिएका बालबालिकाका लागि हेमोडायलसिसको पनि व्यवस्था छैन । आवश्यक मेसिन नहुँदा चिकित्सकहरू रेफर गर्न र बिरामी महँगो शुल्क तिरेर निजी स्वास्थ्य संस्थामा जान बाध्य छन् । वीर अस्पतालमा २५ वर्षअघि ल्याइएको ‘कोबाल्ट–६०’ मेसिन बिग्रिएपछि ०७२ यता क्यान्सरको उपचार ठप्प छ । अस्पतालको १६ स्लाइसको सिटी स्क्यान मेसिन, फोक्सोको परीक्षण गर्ने पल्मोनरी फङ्सन टेस्ट मेसिन र चार वटा ग्यास्ट्रो इन्डोस्कोपी मेसिन पनि बिग्रिएर उपयोगविहीन छ । एमआरआई तथा सिटी स्क्यानको सेवा समयमै उपलब्ध नहुने समस्या विद्यमान छ । उपकरण र आवश्यक चिकित्सक अभावमा न्युरो, हाडजोर्नीजस्ता शल्यक्रियाका लागि बिरामीले ३ महिनासम्म प्रतीक्षा गर्नुपर्ने अवस्था छ । प्रशासन शाखा प्रमुख सागर मिश्रले बजेट अभावका कारण बिग्रेको सिटी स्क्यान मर्मत गर्न नसकेको बताए । ‘मर्मत गर्न ३ करोड रुपैयाँ लाग्छ,’ उनले भने, ‘नयाँ खरिद गर्न बजेट छैन । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, थापाथलीमा एमआरआई मेसिन छैन । अस्पतालका अनुसार मेसिन नहुँदा गत वर्ष एमआरआई गराउन ४ हजारभन्दा बढी बिरामी अन्यत्र रेफर भएका थिए । नवजात शिशुको उपचारका लागि नियोनाटोलोजी विभागमा २४ घण्टे एक्सरे उपलब्ध नहुँदा बिरामी एक हजार रुपैयाँमा पाइने सेवाका लागि निजीमा तीन हजार तिर्न बाध्य छन् । गर्भमा रहेको बच्चाको समग्र अवस्था पहिचान गर्न उच्च गुणस्तरसहितको अल्ट्रासाउन्ड मेसिन आवश्यक पर्नेमा हाल कम क्षमताको पुराना दुई वटा मेसिन मात्र छन् । उक्त मेसिनबाट रोग निदान गर्न कठिनाइ हुने र गर्भवतीले ५/६ घण्टासम्म प्रतीक्षा गर्नुपर्ने अवस्था छ । अस्पतालका सूचना अधिकारी कैलाश घिमिरे एमआरआई खरिद गर्न मन्त्रालयमा बजेटका लागि पेस गरिसकेको बताउँछन् । राजधानीका ठूला अस्पतालको दुरवस्था बताउने यी केही उदाहरण मात्र हुन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जको समस्या पनि उस्तै छ । दुई वटा एमआरआई मेसिनमध्ये एउटा बेलाबेलामा बिग्रिने कारण सेवाग्राही महँगो शुल्क तिरेर निजीमा भर पर्न बाध्य छन् । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा बाल मुटु रोगीहरूका लागि १२ शय्या पर्याप्त छैन । बालबालिकाका लागि छुट्टै उपचार कक्ष, अपरेसन थिएटर तथा क्याथ ल्याब भवन निर्माण गर्ने हृदय रोग केन्द्रको योजना कागजमै सीमित छ । केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले बालबालिकाका लागि उपचार कक्ष, अपरेसन थिएटर तथा क्याथ ल्याब भवन बनाउन लगत इस्टिमेटसहित डिजाइन मन्त्रालयमा पेस गरिसकेको बताए । ‘४ देखि ५ करोड रुपैयाँ आवश्यक पर्छ । बजेट विनियोजित भएमा निर्माण थाल्छौं,’ उनले भने । राष्ट्रिय हृदय रोग केन्द्रको अध्यक्षमा स्वास्थ्यमन्त्री रहने व्यवस्था छ । अस्पतालको आम्दानी वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी छ भने सरकारी अनुदान चालु आर्थिक वर्षका लागि १० करोड रुपैयाँ छ भने अस्पतालको कुल १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी खर्च हुँदा तलब, भत्ता मात्रै झन्डै साढे ४० करोड रुपैयाँ हुने गरेको छ । आयुर्वेद अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, मानसिक अस्पताल लगनखेललगायतमा पनि समस्या उस्तै छ । यसलाई मध्यनजर गरेर नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले साताअघि सरकारका सचिवहरूलाई सरकारी अस्पतालमा बिरामीको उपचारलगायत ३० बुँदे निर्देशन दिँदै दैनिक सेवा प्रवाहमा जनताले फेरि सास्ती बेहोर्नुपरेमा विभागीय कारबाही गर्ने बताएका थिए । तर, राजधानीका अस्पतालको पछिल्लो तस्बिरले ती निर्देशन अझै सिंहदरबारभित्रै सीमित भएको प्रस्ट हुन्छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार