विशिष्टको सवारीसमा जनतालाई सास्ती, नागरिकलाई रैती नै ठान्ने…..

काठमाडौँ — राष्ट्रपतिको सवारी व्यवस्थित गर्ने नाममा सरकारले सधैं सडक अवरोध गर्दै आएको छ, जबकि कुनै पनि ‘विशिष्ट’ को सुरक्षाका लागि आवागमन ठप्प बनाउने कानुन र कार्यविधि छैन । व्यस्त सडक घण्टौंसम्म खाली गराउँदा विद्यालयका बालबालिका, बिरामी, कर्मचारी र सर्वसाधारणले सधैं सास्ती खेप्नुपरेको छ । सहज सवारी चलाउन पटक–पटक जनस्तरबाटै माग हुने गरे पनि सुरक्षा निकायले भने बेवास्ता गर्दै आएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार संसद्लाई सम्बोधन गर्न जाँदा र फर्कंदा भएको जामबाट अलपत्र परेका सर्वसाधारण काठमाडौं मलअगाडि । राष्ट्रपतिको सुरक्षार्थ आवागमनमा रोक लगाइएकाले दिनभर उपत्यकाको ट्राफिक अस्तव्यस्त भएको थियो ।  संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासदेखि संसद् भवन नयाँ बानेश्वरसम्म जाँदा र फर्किंदा सडक खाली गराइएको थियो । नागरिकलाई दुवै सडकका पेटीबाट वारपार गर्न रोक लगाइएको थियो । रिसल्लासहितको सवारीमा राष्ट्रपति गाडीमा थिइन्, तर उनको गाडी बग्गीको पछि–पछि भएकाले यात्रा दिक्कलाग्दो गरी सुस्त थियो । विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ अनुसार ‘राजकीय भ्रमण, संसद्को बजेट अधिवेशन, संयुक्त संसद्को पहिलो बैठक, विदेशी राष्ट्रप्रमुख र सरकार प्रमुखको निमन्त्रणामा हुने विदेश भ्रमण, नेपाल सरकारले तोकेको अन्य भ्रमण’ अति विशिष्ट सवारी हुन् । कार्यविधिमा भनिएको छ, ‘अति विशिष्ट सवारीका बेला ‘सडकमा समन्वय गरेर सुरक्षा व्यवस्थापन मिलाइनेछ ।’ सडक खाली गराएर सवारी गर्ने विषय कतै उल्लेख छैन । तर सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीले ‘भक्ति प्रदर्शन गर्न’ सडक खाली गराउँदै आएका छन् । जसबाट राष्ट्रपतिसहित विशिष्टहरूप्रति नागरिक तहमा असन्तुष्टि चुलिँदो छ । तर, जनताबाट निर्वाचित विशिष्ट भने जनविरोध वास्ता नगरी राजामहाराजाजस्तै रमाउँदै आएका छन् । राष्ट्रपतिको सवारीमा निकट र भित्री सुरक्षा सेनाबाटै, मध्य सुरक्षामा सेना र प्रहरीबाट तथा बाहिरी सुरक्षामा निसानाबाज सेना खटाइएको हुन्छ । शीघ्र कारबाही टोली भनेर सेना र सशस्त्रलाई खटाइएको हुन्छ भने बाटो नियन्त्रणमा प्रहरी र सशस्त्र तैनाथ हुन्छन् । राष्ट्रपतिलगायत अति विशिष्टको सवारीबाट सडकमा अनावश्यक चाप नपरोस् भनेर केही वर्षअघि विकल्पमा बहस भए पनि सुधारको सुरुवात भएको छैन । ‘सवारीका बेला सडकको एउटा लेन मात्रै खाली गराउने, त्यो पनि सवारी सकिनेबित्तिकै पूरै सडक खुलाउने बहस भएका थिए । राष्ट्रपति विदेश जाँदा निवासबाट विमानस्थलसम्म हेलिकोप्टर प्रयोगको विषय पनि उठेको थियो । तर, यी सबै विषय थाती रहे,’ एक पूर्वसुरक्षाकर्मी भन्छन् । नेपाल प्रहरीका पूर्वएआईजी प्रद्युम्न कार्की व्यस्त सडक बन्द गराएर नागरिकलाई बाटो हिँड्नै नदिने र हिँड्न खोज्नेलाई लाठी प्रहार गर्ने प्रवृत्ति गलत भएको बताउँछन् । ‘विशिष्टको सवारी छ भन्दैमा नागरिक घण्टौं अडिएर बसिरहनुपर्ने होइन, कोही आपत्कालीन काममा पनि जानुपर्ने हुन सक्छ । सुरक्षाकर्मीले यस विषयमा ख्याल गर्नुपर्ने हो,’ उनी भन्छन् । घण्टौं सवारी बन्द भएर पुनः सुचारु गराउन खटिएका सुरक्षाकर्मीमा मानसिक र शारीरिक तनावले नकारात्मक परिणाम पनि ल्याउने गरेको उनको भनाइ छ । पूर्वगृह सचिव खेमराज रेग्मी नागरिकलाई घण्टौं सडकमा उभ्याएर राष्ट्रपति सवार हुनु पुरानै संस्कारको निरन्तरता भएको बताउँछन् । ‘विशिष्ट व्यक्तिहरूको आवागमन हुँदा सवारी व्यवस्थापन हुनुपर्छ तर राजामहाराजाको शाही ठाँट होइन, देश र परिवेश सुहाउँदो हुनुपर्छ,’ रेग्मी भन्छन्, ‘तर, हाम्रोमा गणतन्त्र/लोकतन्त्र आएपछि विशिष्ट भनाउँदाको ठाँट हटेन । यसले व्यवस्थाप्रति नै वितृष्ण फैलाउने जोखिम बढ्यो । उनले आफ्नो सवारीका क्रममा नागरिकले पाएका सास्तीबारे ख्याल गरेर राष्ट्रपति आफैंले तामझाम होइन, जनताले दुःख नपाउने गरी सवारी व्यवस्थापन गर्नु भनेर भन्न नसकेको टिप्पणी पनि गरे । ‘यसले राष्ट्रपतिमा पनि शाही रवाफको भोक देखिएको छ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार