सक्कली शरणार्थी नेता, नक्कली शरणार्थी ‘निर्माता’…..

काठमाडौँ — भुटानी प्रजातान्त्रिक आन्दोलनका अगुवा । शरणार्थी आन्दोलनका प्रमुख आवाज । मानवअधिकार अभियन्ता । नेपालका प्रतिष्ठित पाहुना । टेकनाथ रिजालको यो विशाल परिचय रातारात धुमिल भएको छ, शरणार्थीका नाममा मानव ओसारपसार र नेपाल राज्यविरुद्धको गम्भीर आरोपमा नेपाल प्रहरीले उनलाई पक्राउ गरेको छ । भुटानी सत्ताबाट लखेटिएर नेपाल आएका शरणार्थीका लागि विश्वासको टेको थिए रिजाल । भुटानबाट लखेटिएपछि नेपाल आइपुगेका रिजाललाई शरणार्थी समस्या समाधान नभएसम्मका लागि नेपाल सरकारले मासिक जीवन निर्वाह भत्ता, सवारीसाधन, चालक र अंगरक्षकसहितको प्रबन्ध गरेको छ । त्यसबाहेक मन्त्रिपरिषद्ले बेलाबेला पटके निर्णय गरेर आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । सन् १९७३ मा भुटानको लामीडाँडा क्षेत्रबाट राज्यसभा सदस्य बनेका रिजाल सन् १९८४ मा भुटानी राजाको सल्लाहकार परिषद्मा नियुक्त भएका थिए । जोङ्खा भाषा अनिवार्य बोल्नुपर्ने, बख्खु लगाउनैपर्नेजस्ता सरकारी नियमको विरोधमा उत्रिएर बहुभाषिक–बहुसांस्कृतिक राज्यका पक्षमा वकालत गर्दा रिजाल सन् १९८८ मा सल्लाहकार परिषद्बाट निकालिएका थिए । सात दिन हिरासत परेका उनी भारत हुँदै नेपाल आएका थिए । भुटान सरकारको आग्रहमा नेपालको तत्कालीन पञ्चायत सरकारले रिजाललाई सन् १९८९ डिसेम्बर १६ मा झापाको बिर्तामोडबाट पक्राउ गरी भुटानलाई हस्तान्तरण गरेको थियो । त्यसपछि १० वर्ष चेम्गाङ जेलमा बन्दी बनेका उनी सन् २००३ मा नेपाल आएर श्रीमतीका साथमा बस्दै आएका थिए । दुवै छोरा क्यानडा पुनर्वासमा गएका छन् । रिजालले दरबारको सल्लाहकार हुनुभन्दा शरणार्थीको प्रवक्ता हुने बाटो रोजे । तर ७६ वर्षको उमेरमा उनीमाथि आफ्नै समुदाय र आफूलाई शरण दिएको देशमाथि घात गरेको दाग लागेको छ । करिब १ लाख १३ हजार शरणार्थीले तेस्रो देश पुनःस्थापनाको विकल्प रोज्दा रिजाल भने स्वदेश फिर्ताकै अडानसहित नेपालमै बसेका थिए । पुनःस्थापनामा नगएका ६ हजार ३ सय ६५ शरणार्थी मोरङको पथरी र झापाको बेलडाँगी शिविरमा छन्, उनीहरूलाई नेपालमै कार्य सहमति दिने, पुनःस्थापनाका लागि पहल गर्ने वा तेस्रो देश पठाउने विषयमा रिजाल नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायसँग निरन्तर संवादमा थिए । शरणार्थीको हकका लागि बोल्दै आएका उनै रिजाल नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको साझेदार बनेको प्रहरी दाबी छ । यससँगै उनले कम्तीमा तीन दशकभन्दा बढी लगाएर बनाएको छविको अवसान भएको छ । अझ, शिविरमै रहेका शरणार्थीको व्यवस्थापन, स्वदेश फिर्ता र तेस्रो देश पुनःस्थापनाको एजेन्डामा झन् ठूलो क्षति पुगेको छ । प्रहरी हिरासतमा रहेका केशव दुलाल र सानु भण्डारीले धन्दामा रिजाल साझेदार बनेको बयान दिएका छन्, त्यसपछि अनुसन्धान गर्दा तथ्य भेटिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । झापाको भद्रपुरबाट बिहीबार अपराह्न काठमाडौं आएका रिजाललाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको हो । जिल्ला अदालतबाट म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाइएको काठमाडौं प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । नक्कली शरणार्थी बनाउने गिरोहमाथि प्रहरीले एक वर्षयता निगरानी गरिरहेको थियो । गत वर्ष जेठ अन्तिम साता गिरोहका केही सदस्य प्रहरी निसानामा पनि परे । त्यसबेला औपचारिक अनुसन्धान नगरी प्रहरीले निगरानी र प्रमाण संकलनमा मात्रै आफूलाई सीमित गरेको थियो । पछिल्लो पटक गत चैत १२ मा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टंक गुरुङ पक्राउ परेपछि थप अनुसन्धानका क्रममा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । त्यस्तै तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित उच्च पदस्थ अधिकारीहरू नै पक्राउ परे । गिरोहका नाइके र सहयोगी पनि प्रहरीको पकडमा परे । उनीहरूकै बयान र प्राप्त प्रमाणका आधारमा रिजालको पनि संलग्नता खुलेको हो । प्रहरी स्रोतका अनुसार नक्कली शरणार्थी प्रकरणमा रिजाल २०७६ वैशाखबाटै गिरोहको साझेदार बनेर सक्रिय रहेको देखिन्छ । गिरोहले छुट शरणार्थी दर्ताको चलखेल गरेपछि रिजाल त्यसमै मिसिएको तथ्य भेटिएको प्रहरी भनाइ छ । यो योजनालाई अघि बढाउन गृह मन्त्रालय र सत्तारूढ दलका नेताहरूलाई भेटेरै उनी ‘लबिइङ’मा लागेका थिए । २०७६ जेठ ३० मा गृह मन्त्रालयले कार्यदल गठन गर्नुअघि नै गिरोह र रिजालबीच साँठगाँठ भएको प्रहरी अधिकारीहरू बताउँछन् । ‘रिजालले भुटानका विभिन्न गाउँको ठेगाना राखेर नक्कली शरणार्थीको सूची तयार पार्ने जिम्मा लिएका थिए भने रकम असुलेर नक्कली शरणार्थी बन्न तयार हुने युवाको खोजीमा दुलाल र भण्डारीको समूह सक्रिय थियो,’ प्रहरी अधिकारी भन्छन् । तत्कालीन गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णय गरेर गठन गरेको कार्यदलको पृष्ठभूमि बनाउन पनि रिजाल खटिएको हुन सक्ने प्रहरी बताउँछ । रिजाल स्वयंले शरणार्थी समस्याको दिगो समाधानका लागि तत्कालीन गृहमन्त्री थापालाई पत्र लेखेका थिए । रिजालले आफ्नो निवेदनमा भुटानका नागरिकले ससम्मान आफ्नो देश फर्कन पाउनुपर्ने, विभिन्न कारणले शरणार्थी शिविरबाहिर रहेका दर्ता छुट शरणार्थीको समस्या समाधान गर्न समिति गठन गरी दर्ता गर्नुपर्ने र तेस्रो देशमा पुनर्वासले निम्त्याएको पारिवारिक वियोग हटाउन परिवार एक हुने वातावरण सिर्जना हुनुपर्नेसहितका १२ सूत्रीय माग पेस गरेका थिए । भुटानी शरणार्थीका नेताको आग्रह सम्बोधन गर्ने भन्दै गृह मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । २०७६ कात्तिकमा पन्थी कार्यदलले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदन साटेर नक्कली शरणार्थी नामको बेग्लै अनुसूची तयार गरिएको पुष्टि भइसकेको छ । दर्ता छुट भनेर ८७५ जना र अन्य गरेर १ हजारभन्दा बढीबाट प्रतिव्यक्ति ५० लाख रुपैयाँसम्म गिरोहले उठाएको थियो ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार