माओवादीले राष्ट्रिय सभा अध्यक्षमा दाबी गर्ने…..

काठमाडौँ — प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सभा अध्यक्षमा पार्टीको दाबी रहने बताएका छन् । संघीय संसद् राष्ट्रिय सभा र प्रतिनिधिसभामा रहेका सांसदहरूको संयुक्त संसदीय दलको बैठकमा दाहालले पहिलो दल भएको आधारमा पनि अध्यक्षमा माओवादीको दाबी रहने बताएका हुन् । उनले यसका लागि गृहकार्य सुरु भइसकेको पनि बताए । फागुन २० पछि राष्ट्रिय सभामा माओवादी केन्द्र सबैभन्दा ठूलो दल बन्दै छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल पनि फागुन २० मै सकिन लागेको छ । फागुन २९ मा राष्ट्रिय सभा अध्यक्षको निर्वाचन गर्ने क्यालेन्डर सार्वजनिक गरिएको छ । माओवादी केन्द्रको आइतबार र सोमबार बसेको संसदीय दलको बैठकमा बोल्ने सांसदहरूले राष्ट्रिय सभा अध्यक्ष कांग्रेसलाई छोड्न नहुने धारणा राखेका थिए । राष्ट्रिय सभामा माओवादी केन्द्र ठूलो दल बन्न लागेको र सत्ता गठबन्धनमा भएको समझदारीअनुसार प्रधानमन्त्रीबाट दाहालले राजीनामा दिनुपर्ने हुँदा अध्यक्ष छोड्न नहुने तर्क राखेका हुन् । सांसदहरूका कुरा सुनेपछि अध्यक्ष तथा प्रधानमन्त्री दाहालले राष्ट्रिय सभा अध्यक्षमा पार्टीको दाबी रहने बताएको माओवादी केन्द्रकी सचेतक रूपा सोसी चौधरीले जानकारी दिइन् । ‘राष्ट्रिय सभा अध्यक्षमा पार्टीको दाबी रहन्छ भनेर अध्यक्षले संसदीय दलको बैठकमा भन्नुभएको छ । राष्ट्रिय सभाको पहिलो दल भएको हुनाले पनि अध्यक्षमा दाबी गर्ने आधार छ भन्ने उहाँको कुरा थियो,’ चौधरीले भनिन् । सत्तारूढ गठबन्धनका अन्य राजनीतिक दलहरूसँग पनि उक्त विषयमा छलफल भइरहेको दाहालले जानकारी दिएका थिए । गठबन्धनको मुख्य घटक कांग्रेसले पटक–पटक धोका दिएको भन्दै माओवादी केन्द्रका सांसदहरूले राष्ट्रिय सभा अध्यक्ष छोड्न नहुने धारणा राखेका थिए । माओवादी केन्द्रका अधिकांश सांसदहरूले संसदीय दलको दुईदिने बैठकमा कांग्रेससँगको सहकार्य ‘प्राकृतिक’ नभएको भन्दै अध्यक्षसमक्ष प्रश्न तेर्स्याएका थिए । राष्ट्रिय सभा निर्वाचनमा कोशीमा कांग्रेसकै कारण माओवादी उम्मेदवार पराजित भएको प्रसंग निकाल्दै उनीहरूले दीर्घकालीन रूपमा सहकार्य गर्न कठिन हुने बताएका हुन् । माओवादी केन्द्रका सांसदहरूले कांग्रेससँगको सहकार्यमाथि प्रश्न उठाएका हुन् । ‘कांग्रेसबाट निरन्तर विश्वासघात भइरहेको छ । यो सहकार्य दीर्घकालीन रूपमा कसरी जान सक्छ ?,’ बैठकमा बोल्ने अधिकांश सांसदको प्रश्न थियो । कांग्रेससँगको सहकार्यबारे सांसदहरू जनार्दन शर्मा, राजन दाहाल, महेन्द्रबहादुर शाही, माधव सापकोटालगायत दर्जन बढी सांसदहरूले प्रश्न उठाएको एक सांसदले जानकारी दिए । सांसदहरूले सरकार पूर्ण कार्यकारी भूमिकामा हुन नसकेको बारेमा प्रधानमन्त्री दाहालसामु जिज्ञासा राखेका थिए । ‘माओवादी नेतृत्वमा सरकार छ, तर सत्ता छैन,’ माओवादी सांसद उर्मिला माझीको भनाइ थियो, ‘संघीय सरकार पूर्ण कार्यकारी भूमिकामा आउन जरुरी छ । जनतालाई माओवादी नेतृत्वको सरकार भएको अनुभूति गराउनुपर्छ ।’ सरकारले सुरु गरेको भ्रष्टाचारविरोधी अभियानमा न्यायालय ‘सहयोगी भूमिकामा नभएको’ पनि केही सांसदहरूले गुनासो गरेका थिए । ‘भ्रष्टाचारको अभियोगमा प्रहरीले पक्राउ गरेका व्यक्तिहरू सजिलै छुट्ने गरेका छन्, यसमा न्यायालयले सहयोग गरेको देखिएन,’ सांसदको भनाइ थियो । उनीहरूले प्रधानमन्त्री दाहाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भ्रष्टाचारविरोधी अभियानमा नरोक्न सुझाव दिएका थिए ।   साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार