हिउँले ल्यायो खेतबारीमा खुसी…..

बझाङ, सुर्खेत, गोरखा — मुलुकका हिमाली भेगमा हिउँसँगै वर्षा भएपछि हिउँदे बालीनाली सप्रिने आसले किसानहरूमा उत्साह छाएको छ । हिमपातका कारण जनजीवन प्रभावित, पशुचौपाया गोठभित्रै भए पनि खेतबारी सेताम्मे भएपछि बालीनाली सप्रिने भन्दै किसान खुसी भएका छन् । त्यस्तै खुसी देखिनेमा पर्छन बझाङको रूपातोला गाउँका ७२ वर्षीय विष्णुभक्त जोशी । ‘केही दिनअघिसम्म काला हिमाल देखेर मनै खसक्क हुन्थ्यो । हेर्नै मन लाग्दैनथ्यो,’ उनले भने, ‘अहिले बल्ल हिउँले हिमाल हिमालजस्ता देखिन थालेका छन् । खेतबारीसमेत सेताम्मे भएका छन् ।’ हिउँदे वर्षा भएसँगै माटो रसिलो भएको बताउँदै उनले खेतीपाती पनि सप्रिनेमा आशा जागेको बताए । लामो समयपछि बझाङमा हिउँदे वर्षा भएको छ । वर्षासँगै परेको हिमपातले साइपाल आधार शिविर क्षेत्रसँगै रूपातोला गाउँबाट नजिकका फराली खेत, पेटार्‍या, कालापानी, धौला हिमाल सेताम्मे भएका छन् । दुई साताअघिसम्म यी हिमालहरू काला र उराठलाग्दा देखिन्थे । अनावृष्टिका कारण थलारा–२, विनाडाका शेरबहादुर खातीको हराएको निद्रा हिउँदे वर्षासँगै फर्किएको छ । लामो समयसम्म हिउँदे वर्षा नहुँदा बाली सुक्न थालेपछि अनिकालको चिन्ताले उनलाई निद्रा पर्न छाडेको थियो । यत्रो खेती त्यसै सुक्ने भयो भन्ने चिन्ताले मलाई मात्रै होइन, सबै गाउँलेलाई सताएको थियो,’ हिउँदे वर्षापछि राहत महसुस भएको सुनाउँदै उनले भने, ‘ढिलै भए पनि अलि अलि धर्ती भिजाएको छ । दुई दिनमै हेर्नुस् न, खेत हरियो हुन लागिसक्यो ।’ दुई वर्षदेखि खडेरीको सामना गरिरहेका कारण खातीलाई यस वर्ष पनि त्यस्तै हुन्छ कि भन्ने लागेको रहेछ । गत वर्ष मात्रै करिब २५ रोपनीमा लगाएको हिउँदेबाली फल लाग्नै नपाई सुकेपछि उनको परिवारले चरम खाद्य संकट व्यहोर्नुपरेको रहेछ । ‘पोहोर/परार पनि ३०–४० बोरा गहुँ फल्ने खेतबाट दुई बोरा मात्रै भित्र्यायौं । यस वर्ष पनि उही नियति हुन्छ कि भन्ने डर थियो । धन्न पानी पर्‍यो,’ आकाशतर्फ दुई हात जोडेर धन्य हुँदै उनले भने । आकाशे पानीको भरमा खेती गर्ने खातीको जस्तै बझाङका पहाडी र हिमाली क्षेत्रका किसानको चिन्तालाई माघ तेस्रो साता परेको हिउँदे वर्षाले केही राहत दिलाएको छ । असोजदेखि वर्षा नभएका कारण बझाङका जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, वित्थडचिर, केदारस्युँ, थलारा, दुर्गाथली, छविसपाथिभेरा र खप्तड छान्नालगायत क्षेत्रको हिउँदेबाली सुक्न थालेको थियो । सिँचाइको सुविधा कम भएका सुर्मा, मष्टा, तल्कोट र साइपाल गाउँपालिकाका स्थानीयलाई खडेरीपछिको सम्भावित भोकमरीले सताउन थालेको थियो । हिउँदे वर्षा भए पनि निकै ढिला भएकाले पहिलाजस्तै उत्पादन भने नहुने हो कि भन्ने किसानहरूमा डर भने छ । ‘पहिला मंसिरमै हिउँ परिहाल्थ्यो । अहिलेसम्म त गहुँ गोड्ने बेला नै भइसक्थ्यो,’ साइपाल गाउँपालिकाकी असौजी बोहराले भनिन्, ‘यो साल अहिलेसम्म गहुँका बुटाले धर्तीसमेत छोडेको छैन ।’ उनले मंसिरमा उम्रिएको आधाजसो टुसा पनि सुकेर मरिसकेकाले उत्पादन पहिलाजस्तो नहुने ठान्छिन् । ढिलो वर्षा भएका कारण सेती, कालंगा, सुनिगाडलगायतका नदी र खोलाको तटमा रहेका र बाह्रैमास सिँचाइको सुविधा भएका सीमित क्षेत्रबाहेक आकाशे पानीको भरमा खेती गरिने ठाउँको उत्पादन १५ देखि २५ प्रतिशतसम्म घट्ने कृषि ज्ञान केन्द्रको अनुमान छ । जिल्लाभरि करिब १६ हजार हेक्टर क्षेत्रफलमा गहुँ, जौ, केराउ, मसुरो, तोरी लगायतको खेती गरिएको छ । बझाङको कुल खेतीयोग्य जमिनमध्ये सिँचाइ सुविधा भएको ४० प्रतिशत क्षेत्रफलमा लगाइएको बालीमा खडेरीको खासै असर नदेखिए पनि त्यसबाहेकका क्षेत्रमा ढिला वर्षाका कारण उत्पादन घट्ने आकलन प्राविधिकहरूको छ । सामान्य अवस्थामा वार्षिक उत्पादन ३२ हजार मेट्रिक टन हुने जिल्लामा ७ हजार मेट्रिक टन अझै अपुग हुने गरेको छ । ‘ढिलो गरी वर्षा भएका कारण उत्पादन घट्ने त निश्चित नै छ तर यो वर्षाले थप क्षति हुनबाट केही हदसम्म जोगायो,’ कृषि ज्ञानकेन्द्रका प्रमुख टेकबहादुर विष्टले भने, ‘यो वर्षाले हिउँदे र वर्षे फलफूलका लागि पनि केही हदसम्म राहत पुगेको छ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार