सत्ता समीकरणको असर प्रदेशसम्म…..

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले कोल्टे फेरेर नयाँ सत्ता समीकरण बनाउँदा यसको असर प्रदेश सरकारसम्म पर्ने भएको छ । कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी मिलेर बनेको गठबन्धन भत्किएपछि प्रदेश सरकारहरू पुनर्गठन हुने देखिएको छ । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी, उन्मुक्तिसहित बन्ने नयाँ गठबन्धनको गणितका आधारमा ती सरकार बन्ने छन् । राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीको हेरफेर, राष्ट्रियसभामा कांग्रेसले दिएको ‘धोका’ र कांग्रेस महासमिति बैठकमा माओवादी सशस्त्र युद्धको व्याख्यालाई लिएर कांग्रेससित बढेको दुरी अन्ततः गठबन्धन विघटनमा बिन्दुमा पुगेको हो । कोशी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेश सरकारबाट कांग्रेसका मुख्यमन्त्री बाहिरिने सम्भावना छ भने अरु मन्त्रीले सरकार छाड्नु पर्ने छ । वाग्मती, कर्णाली प्रदेशमा माओवादीको मुख्यमन्त्रीले निरन्तरता पाउने सम्भावना छ । मधेशमा पनि सरकारको नेतृत्व जसपाले नै लिने निश्चितप्राय छ । कांग्रेस संघसहित सातै प्रदेशबाट बाहिरिने छ भने त्यहाँ एमालेको प्रवेश हुने देखिन्छ । संघीय संसद्मा २१ सिट भएको रास्वाको संघीय सरकारमा मात्र सहभागित हुनेछ । रास्वापको प्रदेशमा प्रतिनिधित्व छैन । कांग्रेस र माओवादीबीच गठबन्धन तोडिएपछि एमाले एक वर्ष ९ दिन पछि पुनः सत्तमा जाँदैछ । राष्ट्रपति कसलाई बनाउने विषयमा एमाले र माओवादीबीच कुरा नमिलेपछि गत फागुन १२ मा एमाले सरकारबाट बाहिरिएको थियो । त्यसपछि एमाले संघसहित सातै प्रदेश सरकारबाट बाहिरिएको थियो । राष्ट्रपति कसलाई बनाउने विषयमा एमालेसँग कुरा नमिलेपछि माओवादीसहित अन्य दल कांग्रेससँग गठबन्धन भएको थियो । कांग्रेस माओवादीसहित यो गठबन्धन एक वर्ष तीन महिना नौ दिन चल्यो । प्रधामन्त्री पुष्पकमल दाहालले सोमबार बिहान भएको पदाधिकारी बैठकमा नयाँ सत्ता समीकरण बनाउनुको तीन कारण दिएका थिए । पहिलो, संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुंगोमा पुर्‍याउन, दोस्रो, वामपन्थी एकताको आधार बनाउन र तेस्रो, सरकारका कामलाई तीव्रता दिन नयाँ गठबन्धन बनेको पदाधिकारीलाई जानकारी दिएका थिए । माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले यी तीन विषयमा केन्द्रित भएर एमालेसँग नयाँ गठबन्धनका लागि सहकार्य सुरु भएको बताए । ‘अब नयाँ गठबन्धन सरकारको मुख्य उद्देश्य पनि त्यही हुनेछ । केन्द्रमा एमाले, माओवादीको नेतृत्वमा भएको समीकरणअनुसार प्रदेश सरकारको स्वरुप बन्नेछ । कोशीमा पहिलो चरणमा, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा एमालेको मुख्यमन्त्री हुने सम्भावना छ । गत फागुनमा एमाले माओवादी गठबन्धन भत्किएपछि एमालेले ती प्रदेशबाट मुख्यमन्त्री छाड्नु परेको थियो । मधेश प्रदेशमा भने जसपाको नेतृत्व कायम हुने सम्भावना छ । सबै प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी एमाले र माओवादीबीच भएको छ । हाल प्रदेश सरकारमा रहेका माओवादी, जसपा, उन्मुक्ति पार्टीका मन्त्रीहरु हाल सरकारमै रहनेछन् । आलोपालो सरकारमा मात्र ती मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी ती दलेको छ । एकीकृत समाजवादीका मन्त्रीहरु संघ र प्रदेश सरकारबाट बाहिरिने छन् । सरकारबाट बाहिरिए पछि एमाले कांग्रेस माओवादी नेतृत्वको गठबन्धन तोड्न गृहकार्य जारी राखेको थियो । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच विगत छ महिनादेखि ‘वामपन्थी’ सहकार्यका लागि गृहकार्य गरेका दिए । दुई नेताबीच भएको एक्लाएक्लै संवादले सोमबार मूर्त रुप लिएपछि एमालेको सत्तारोहण सुरु भएको छ । संघ र सात प्रदेशमा हुने एमाले माओवादी सहकार्यको आयु कति लामो हुन्छ भन्ने ओली र दाहालको एकता र संघर्षमा निर्भर हुनेछ ।साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार